दोस्रो चरणको 'तिलौराकोट उत्खनन् अन्वेषण परियोजना' अन्तर्गत पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र बेलायतको डुर्हाम विश्व विद्यालयका विज्ञ तथा पुरातत्वविद्को टोलीले डेढ महिनायता गरेको उत्खननमा यस्तो प्रमाण भेटेको हो । तिलौराकोट राजदरवार भग्नाबषेशदेखि ५० मिटर उत्तर पश्चिम सुरक्षा किल्ला पर्खालमा उत्खनन् गर्दा गत वर्ष साढे ३ मिटर गहिराइमा २ वटा ससाना 'पोष्ट होल' पाईएका थिए । यस पटक त्यसभन्दा अलिकति पुर्बपट्टि ३ मिटर गहिराई देखि नै 'पोष्ट होल' का डोब भेटिएका हुन् ।
४ मिटर गहिराईमा पुग्दा यस्ता ९ वटा डोब भेटेपछि डुर्हाम विश्वविद्यालयका प्रमुख पुरातत्वविद् डा. क्रिस्टोफर डेबिस खुसी भए । उनले नजिकै रहेका विश्वविद्यालयका सहउपकुलपति रबिन कनिङघमलाई बोलाएर देखाएका थिए । त्यसपछि कनिङघम पनि खुसी भई खन्न लागे । अनि, चिरिच्याट्ट पारेर फोटो खिचे ।
'पोष्ट होलसंगै बुद्धकालिन भनेर मानिएको तिलौराकोटको ईतिहास लम्बिएको छ । शाक्यवंशिय राजधानी भन्दा पहिल्यै तिलौराकोटमा बस्ती बसेर मानव चहलपहल भएको पुष्टी हुन्छ,' परियोजना को-डाईरेक्टर तथा युनेस्को कन्सल्टयाण्ट पुरातत्वविद् कोषप्रसाद आचार्यले भने ।
१५ देखि २० व्यासका ९ वटा 'पोष्ट होल' अहिले सबैलाई हेर्न खुला राखिएको छ । काठ र बासको खाबा गाडिएको ठाउका माटो फरक देखिन्छ । 'पोष्ट होल' बाट पाइएको माटोको नमुना परीक्षणका लागि बेलायतका युनिभरसिटी अफ स्टलिङ्गका प्रोफेसर इयन ए सिमसनले लगेका छन् । तिलौराकोट बुद्ध जन्मनुभन्दा धेरै पहिल्यैको हो भन्ने बलियो प्रमाण मिलेको युनेस्कोको कन्सल्टयाण्ट वरिष्ठ पुरातत्वविद वसन्त बिडारीले बताए । अर्को वर्ष ल्याब रिपोर्ट आए पछि यकिन भन्न सकिने उनले उल्लेख गरे ।
यसअघिको उत्खनन्मा ईंटा प्रयोगबाट बनेका संरचना भेटिएका थिए । अहिले काठ प्रयोग गरेर बनाइएका संरचना पनि भेटिएपछि अनुसन्धानकर्मीहरू हौसिएका छन् । यसलेे इर्ंट नबन्दा घर बनाउन काठ बास प्रयोग गरिन्थ्यो भन्ने थाहा भएको उनीहरूको भनाइ छ । 'पोष्ट होल' भेटिनु राम्रो संकेत भएको प्राध्यापक कनिङघमले बताए । यसले तिलौराकोटको प्राचीनतालाई झनै पुष्टी गर्दै कार्यक्रम निर्धारण गर्न सघाउनले उनले उल्लेख गरे ।
'पोष्ट होल' पाईएको ठाउमा सन् १९६२ मा भारतीय पुरातत्वविद् देबला मित्राले समेत उत्खनन् गरेकी थिइन् । उनले प्रतिवेदनमा तिलौराकोट दोस्रो वा तेस्रो शताब्दीको सहर भएको भनेकि छन् । तर 'पोष्ट होल' ले उनको दाबीलाई 'खारेज' गरेको विज्ञहरूले बताए । प्रारम्भिक अनुमानअनुसार यो सहर ईसा पुर्ब छैठौं वा सातौ शताब्दीको हुन सक्ने उनीहरूको भनाइ छ । 'अहिलेको उत्खनन्ले मित्राको दाबी स्वतः अस्विकृत भएको छ,' उनीहरूले भने । पुरातत्वविद् मित्राको प्रतिवेदनपछि नै भारतको सिद्धार्थनगरको अलिगढवा राजा शुद्धोदनको राजधानी भएको भन्ने दाबीसमेत गरिएको थियो ।
उत्खनन् टोलीमा डुर्हाम विश्वबिद्यालयका ११, युनेस्कोका २ कन्सल्टयाण्ट, पुरातत्ब विभागका २ र लुम्बिनी विकास कोषका ३ बिषेशज्ञ तथा पुरातत्वविद् सहभागी छन् । त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा संस्कृति बिषय अध्ययनरत १३ बिद्यार्थी पनि सहभागी छन् । उनीहरू अझै दुई साता यस काममा खटिनेछन् । तिलौराकोटस्थित शुद्धोदनको राजप्रासादमा भगवान गौतम बुद्धले २९ वर्ष हुँदासम्म बिताएका थिए ।
साभार: कान्तिपुर







0 comments:
Post a Comment