पूर्णप्रसाद न्यौपाने माघ १८ ओखलढुंगा ।
ओखलढुंगाको थाक्ले ८ सोक्माटारमा हिजो भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । हिजो अपरान्ह ४ बजे भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५० भन्दा बढि घाइते भएका थिए । घाइतेमध्ये सातजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुलीको झाँगाझुली रातमाटेबाट हलेसी दर्शनका लागि खोटाङ जाने क्रममा रिजर्भ बस हिजो अपरान्ह ओखलढुंगाको थाक्ले ८ सोक्माटारमा दुर्घटनामा परेको थियो । ना २ ख ७०६३ नं.को बस सडकबाट अनियन्त्रित भई तीन सय मिटर तल खसेको थियो । मृतकमध्ये पाँचजनाको पहिचान भएको र अरू पाँचजनाको पहिचान हुन बाँकी रहेको ओखलढुंगा प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि घटनास्थलमै ६२ वर्षका सुकमाया श्रेष्ठ, ५१ वर्षका पुन्यप्रसाद वैद्य र ६१ सावित्रीमाया श्रेष्ठको ज्यान गएको थियो । त्यसैगरी काठमाडाँैको विण्ड वि अस्पतालमा उपचारका क्रममा ३२ वर्षीया सावित्रा गिरीको मृत्यु भएको छ भने विराटनगर लैजाने क्रममा २६ वर्षका रमेश गिरीको ज्यान गएको हो । अन्य पाँचजनाको कटारी लैजाने क्रममा बाटैमा मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार सबै सिन्धुली रातमाटेका स्थानिय रहेको प्रहरीले जनाएको छ ।







0 comments:
Post a Comment