संसदीय दलमा दाहाल, प्रवक्ता फेरि शर्मा
माघ १८ काठमाडौं । एकीकृत नेकपा माओवादीले बैशाखमा सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । दुई साता लामो केन्द्रीय समितिको बैठकले पार्टी भित्रको समस्या समाधानका लागि राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यसअघि नेता डा.बाबुराम भट्टराईले महाधिवेशनमा जानुपर्ने माग गरेका थिए । तर धेरै केन्द्रीय सदस्य उनको प्रस्तावको विपक्षमा उभिएपछि सांगठनिक राष्ट्रिय सम्मेलनको निर्णय भएको स्रोत जनाएको छ । ‘महाधिवेशन भएको दुई वर्ष नहुँदै अर्को गर्नु राम्रो हुँदैन भन्ने धेरैको जोड रह्यो’ एक केन्द्रीय सदस्यले भने ।
बैठकले बैशाख १८ गते मे दिवसका दिन सांगठनिक सम्मेलनको निर्णय गरेको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन सुझाव सहित पारेत गरेको केन्द्रीय सदस्य शर्माले जानकारी दिए । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेताद्वय डा. भट्टराई र नारायणकाजी श्रेष्ठले लिखित सुझाव दिएका छन् ।
शनिबार बैठकको अन्तिम दिन भट्टराईले ११ र श्रेष्ठले ९ बुँदे सुझाव दिएका हुन् । त्यस्तै बैठकले पार्टीको संसदीय दलको नेता अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको छ । भने पार्टी प्रवक्तामा नेता दिनानाथ शर्मालाई चयन गरिएको छ । उनी अग्नि सापकोटा भन्दा पहिले पनि प्रवक्ता थिए ।
बैठकले नेताहरु बाबुराम भट्टराईलाई स्कूल विभाग, नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय विभाग, दाहाललाई उत्पादन तथा निर्माण विभाग, पोष्टबहादुर बोगटीलाई संगठन विभाग र शिक्षा विभागको जिम्मा अग्नि सापकोटालाई दिएको छ ।







0 comments:
Post a Comment